स्कुस र स्कुसको तरुलको कविता
डोना आचार्य
पेन्सेल्भिनिया, अमेरिका
केही दिनअघि
स्कुसको बिरुवा बाहिरको माटोमा सार्दै गर्दा
फेरि कठ्याङ्ग्रिने चिसोले
मारिदेला कि भन्ने त्रास थियो।
पटकपटक उखेलिँदै, रोपिँदै
तय भएको हाम्रो यात्रामा
कति बिरुवाहरू मौलाए,
कति मनुवाहरू बौलाए।
मौलाएका बिरुवाको मुन्टा
हामी मीठो मानेर खान्छौँ।
हाम्रा मौलाउनेहरू
कति थाहा पाएर,
कति थाहा नपाएर
कसकसलाई मलजल गरिरहेका छन्,
आँक्न गाह्रो छ।
राम्रोसँग खुकुलो बनाइएको माटोमा पनि,
गाह्रो-साह्रो चट्टानजस्तो माटोसम्म
च्यापिँदै, निचोरिँदै
स्कुसको जरा पुग्छ।
त्यही जरोलाई
हामी घन्टौँसम्म
मेहनतका साथ
खनी-खोजी
मिठो मानेर खान्छौँ।
म किन किन
समय-समयमा
मौलाउन नसक्ने बिरुवाको
ख्याल गर्न रुचाउँछु।
समय-समयमा
आफ्नै सम्भावना बिर्सिने,
सम्भावना देख्न नसक्ने
बिरुवाहरू सम्झन्छु।
कहिले बिरुवाहरू
मल-माटो नमिलेर फस्टाउँदैनन्।
कहिले मनुवाहरू
संगत नमिलेर मौलाउँदैनन्।
माटो बनाउन समय लाग्छ।
संगत सपार्न
कति हो कति मेहनत र धैर्य चाहिन्छ।
कसले बुझाउने?
कसले सम्झिने?
मेरो थाकेको तिघ्राको
मांसपेशी पोल्दै गर्दा
बल्ल एक पावा तरुल निस्किए पनि
म गर्व गर्छु।
परिश्रमको फल
सानो भए पनि
माटोमुनि हराएको हुँदैन।


इस्कुस त एक बलियो रूपक मात्र रहेछ मनुवाको कथा-व्यथालाई प्रष्ट्याउने! कर्म, अकर्म र विकर्म पनि गैणरूपमा केलाए झै लाग्यो यो कविता मार्फत!! सुन्दर विचारको उदय हो यो!
सुन्दर कविता । धैर्यता र कुरा संगतको हो॥
बडो संदार्भिक कविता छ मित्र
Fabulous Bhai. Your poem reminded me of those days. Sarai mitho xa bhai.