खिचडी
गोधुलिमै गुफा पसेँ
हिजोको रात………….
सायद
उतानो सुतेँ क्यार
अथवा, छातीमा हात राखेँ |
अचेत निद्रामा सपनाहरु तम्सिरहेथे
एउटा सुनौलो प्रभात
स्वागतका साथ आफ्ना आफ्ना आँगनी
र चम्काहरुमा
भित्र्याउनका निम्ति
तर,
त्यो बिहानी तिनीहरुबाट धेरै टाढा थियो
लाग्थ्यो,
प्रसान्त महासागरका भित्तानिर
झुल्काहरुलाई क्रुशमा टाँगिएको
छातीमा रामको बाँड गाडिएको
देवीको त्रिशुल
बुद्धका उपदेश गुन्जायमान
अल्लाहका सतबिचारको प्रचार
गुरु नानकको प्रवचन
सत्य, त्रेता, द्वापर र कलि
चारै युगको सम्मिश्रण
खिचडी
मिठो परिकारको प्रतिक्षामा
युद्धरत कलमहरु
आ-आफ्ना सस्त्र अस्त्र चलाइरहेथे
स्वर्ग, मर्त्य र पाताल
तीनै लोकमा
खिचडी खाने निम्तो
झल्याँस्स बिउँझदा सपना विपना भयो
तर अलि फरक
ती क्रुसका काँटी छातीका बाँड
त्रिशुलका चोटहरु त्यहाँ रहेनन्
स्वर्ग लोभ्याउने किरणहरु
मेरै अगाडि खडा
सपनीमा पाएको निम्तो मान्न
साँच्चै सबै रहेछन्
ती युद्धमा होमिएका कलमहरु
खुसीका गाना गाइरहेका
………कस्तो अचम्मको खिचडी |

