कुरूप दर्पण

तिलारूपा आचार्य (अधिकारी)
ओहायो, अमेरिका
कुरूप दर्पण
मेरी दिदीको,
दाइजो कै कारण
शरीर भरी आगो लगाइयो।
आस र सासको
झिनो किरण भेट्न
माईत घर टेकेदेखिनै मेरी आमाको
डिप्रेसनको गणनाले तीव्रता लियो।
भो……,
बा’को त कुरै नगरौं
दाइजोको ऋणले थेचारेको
अझै उठ्न सकेका छैनन्।
म जन्मँदा,
शुभ लग्नमा जन्मेको थिएँ रे
गाउँका सबैले सबैले भनिदिएछन्
संसारकै ‘भाग्यमानी छोरो’।
भाग्यको घण्टी बजाउँदै
त्यसै दिनबाट
डोकोमा दूध दुने
ठूलो आस थियो रे
बिचरा! मेरा बा’को।
तर अफसोस…
विस्तारै-विस्तारै मेरा बा
नियतिको खेल खेल्दै
भट्टीसम्म पुग्न थालेछन् अचेल
आमाको तिलहरी नै लिएर।
सुन्दरता!
सुन्दरता पनि
एक अभिशाप रहेछ
मोडलिङ सुरु गरेकी मेरी बहिनीका
ती सुन्दर आँखाभरी
हजारौं सपनाहरू अंकुरित थिए।
तर,
यहाँ इज्जतको लिलाम!
शरीर बचाउँदै बचाउँदै
एसिड प्रहारको भुमरीमा परेर
जिउँदो लास, पल-पल मरिरही
यो नैतिकता नै हराएको
कुपोषित समयमा।
यो नियति भनौँ,
या परिवेशको दोष हो
भाग्यले होइन,
दुनियाँले पछार्यो सधैँ मलाई
मेरी आमा डिप्रेशनबाट कुरूप
दिदी दाइजोबाट कुरूप
बा साहुको ऋणबाट कुरूप
बहिनी सुन्दरताबाट कुरूप
म सोच्दा सोच्दै,
बौलाएको छु अचेल
मलाई यही परिवेशले
बनायो कुरूप।।।

