लोडसेडिङ

लिला “ निशा”
सोलन , ओहायो

 लोडसेडिङ

साँझ पर्न नपाउँदै
बत्तीको आँखामा थकान झर्छ,
एक्कासि अँध्यारो
घरभित्र पस्छ
जस्तो कि कसैले
शहरको मुटु नै बन्द गरिदियो।

यता गॉऊमा
भोटसंगै बिजूली
घर घर आऊछ भन्ने
बडो आशाको साथमा
बिजुली तार जोडेर
भविष्यको संरचना
तैयार गर्दै थिए
मसिना कोपीलाहरू ।

टुकीको सानो ज्वालामा
घरहरू आफैलाई चिन्ने गर्छन्,
भित्तामा नाच्ने छायाँहरू
कहिले डर लाग्दा
कहिले रमाइला।

किताबको पानामा अड्किएको अक्षर
मोबाइलको मृत स्क्रिन
र अधुरा सपनाहरू
सबैजना पर्खिरहेका हुन्छन्
बत्ती फर्किने खबरमा
बाहिर गल्लीमा
बालबालिकाको हाँसो अझै बलिरहन्छ,
अँध्यारोले
उनीहरूको खेल रोक्न सक्दैन।

तर भित्र कतै
एउटा सानो चिन्ता पनि हुन्छ—
किन हरेक रात
उज्यालोलाई
यति धेरै संघर्ष गर्नुपर्छ?

लोडसेडिङ
सिर्फ बत्ती जाने कुरा मात्र होइन,
यो त कहिलेकाहीँ
आशाको स्विच पनि
अलिकति तल झर्ने
क्षण हो।
सपनाको उडान
रद्द हुने
मार्ग हो।
!!!!!!!!!!!!!!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *