तुर्सा कविता: एक संक्षिप्त चर्चा
तुम्बेहाङ्ग लिम्बू
सन्दर्भ: “तुर्सा” कविता शिवलाल दाहालकृत कविता सङ्ग्रह “तुर्सा” मा सङ्गृहीत छ । यो कविता उक्त कृतिको शीर्षक कविता हो । “तुर्सा” दक्षिण भूटानको फुञ्छोलिङ सहर किनार भएर बग्ने भूटानको ठूला नदीहरू मध्ये एक नदीको नाम हो । यो कविता तुर्सा नदीको माध्यमबाट सन् १९९० अघि र पछि दक्षिण भूटानीहरु विरुद्ध राज्यसत्ताबाट भएको ज्यादती तथा विस्थापनसम्मको वर्णन गर्ने औ इतिहास साक्षी राख्ने सन्दर्भमा संरचित रहेको छ ।
शीर्षक: तुर्सा एक शब्दात्मक शीर्षक भएको कविता हो । तुर्सा नाम पद हो । पश्चिमोत्तर भूटानको हिमालमा उद्गम भई दक्षिण भूटानको साम्ची जिल्ला हुँदै छुखा जिल्लाको भूटान प्रवेशद्वार फुञ्छोलिङ सहर किनार भएर एकनास बग्ने उक्त नदीलाई महान् साक्षीको प्रतीक बनाएर कविले उच्छेदनमा परेका नेपाली भाषीहरूको देश निर्माणप्रतिको योगदान तथा वफादारिता प्रस्तुत गरेका छन् । भूटानमा नेपाली भाषीहरू, मूलतः दक्षिण भूटानमा बसोबास भएको हुनाले औ विस्थापित दक्षिण भूटानीहरु यही बाटो भएर तेस्रो मुलुक पुगेका हुनाले कविले दक्षिण भूटानको एउटा प्रमुख नदी मानिने यस नदीलाई साक्षीको रूपमा मानवीकरण गरी उभ्याउन खोजेका छन् । यसर्थ, यसको शीर्षक सार्थक रहेको छ ।
मूल भाव: कवि शिवलाल दाहाल भूटानी नेपाली साहित्यिक क्षेत्रमा सुपरिचित नाम हो । उनको “तुर्सा” कविता नेपाली कविता साहित्यमा आलोचनात्मक यथार्थवादी भाव धाराको कविता हो । यस कवितामा तुर्सा नदीलाई फड्के साक्षी राखेर कविले भूटानमा नेपाली भाषी भुटानीहरूको निष्कपट व्यवहार, देश निर्माणप्रतिको त्याग, बलिदान र योगदान कस्तो थियो, त्यो उजागर गरेका छन् । उनले भनेका छन्, “तुर्सा” लाई सोध्ने हो भने सबै कुरा स्पष्ट हुनेछ । दूधको दूध, पानीको पानी हुनेछ। भूटानी सत्ताले अन्तर्राष्ट्रिय समुदायको नजरमा हालेको धुलो एक झट्कामा उड्नेछ र, विश्व सामु भूटानी राज्यसत्ता पूर्णतः नाङ्गे झार हुनेछ ।
कवितामा भनिएको छ, नेपाली भाषी भूटानीहरु देश निर्माण तथा विकासका लागि मरिमेट्ने सच्चा देशभक्त हुन् । देश निर्माणको लागि उनीहरूले स्वास्नी भनेनन्, छोराछोरी भनेनन्, घरपरिवार भनेनन्, सबै भन्दामाथि शिरमा देश निर्माणलाई राखे । आजीवन सँगसँगै बाँच्ने कसम खाएका प्राण प्यारी प्रसव वेदनामा छटपटिएर औषधि अभावमा अकालमै मर्दा पनि उनीहरू घर फर्किएनन् । आफ्नै मुटुको टुक्रा छोराछोरी भोकले प्याकप्याक भई मर्दा पनि उनीहरू घर फर्किएनन् । उनीहरूको लागि अर्धाङ्गिनी वा छोराछोरी देश भन्दा ठुलो लागेन । कवि भन्छन्:
प्रतिमानले–
टासी छ्र्र्र्र्योजोङ बनाउँदा–बनाउँदै
सुन्यो
औषधि अभावमा सुत्केरी स्वास्नी मरेको समाचार
तर
उसले भन्यो
“मर्दै गरोस्
म देश निर्माणमा छु”
गुमानसिंहले–
जम्वेलाखाङ्को पुनर्निर्माण गर्दा–गर्दै
सुन्यो
अनिकालले अकालमा छोरो म¥यो
तर
उसले भन्यो
“मर्दै गरोस्
म देश निर्माणमा छु”
प्रतिमान, गुमानसिंह, हर्कबहादुर, नरबहादुर, शिवशङ्कर नेपाली भाषी भूटानीका प्रतिकात्मक नाम हुन् । यी नामले सिङ्गो नेपाली भाषी भुटानीहरूको देश निर्माण तथा विकास कार्यमा कस्तो योगदान रहेको थियो भन्ने प्रतिबिम्बित गर्दछ। यसरी उनीहरूले जाम्बेलाखाङ, टासिछोजोङ, पुतली भीरको सडक निर्माण लगायत देश निर्माण कार्यमा अहोरात्र योगदान पुर्याइरहे । देश निर्माण भन्दा ठुलो केही ठानेनन् । एक दिन भूटानलाई विश्व सामु विकसित मुलुकहरूको हाराहारीमा उभ्याउने उनीहरूको ध्येय थियो । र त्यस्तो गौरवान्वित मुलुकमा छोराछोरीको भविष्य फुलेको देख्ने उनीहरूको सपना थियो ।
तर उनीहरूले देखेको सपना कोरा सपना भइदियो । त्यो बिपनामा परिणत हुन सकेन । महान् सपना बोकेर दशनङ्ग्री खियाई सिङ्गो बलबैंश खर्चेको देश, एउटा जङ्गली मुलुक आबाद गरी सपनाको सुन्दर बस्ती बसालेको देश, कालान्तरमा आएर आफ्नो हुन सकेन । विदेशी औ अवैध आप्रवासीको लाञ्छना लागेर तिरस्कारपूर्वक देश निकाला हुनुपर्यो ।
सन् १९९० मा भूटानी राज्यसत्ताले देशको कूल जनसङ्ख्याको ६ भाग मध्ये एक भाग जनता बलपूर्वक निकाला गरेको दुखद घटनालाई कविले बडो कलात्मक एवम् संवेदनात्मक रूपमा चित्रण गरेका छन् । आफ्नो देश, आफ्नो राष्ट्र ठानी निस्वार्थ भाव सहित देश निर्माण कार्यमा नेपाली भाषी भूटानीहरु कसरी समर्पित थिए, कस्ता कस्ता त्याग र बलिदान गरेका थिए भन्ने कुरा कवि यसरी चित्रित गर्छन्:
धेरै अघि
यही बाटो भएर
हर्कबहादुर, नरबहादुर,शिवशङ्कर
राजधानीको बाटो खन्न गएका थिए
तर
उनीहरू कहिल्यै फर्किएनन्
गाउँमा हल्ला मात्र फर्कियो
हर्कबहादुर–
पुतली भिरको बाटो खन्दा–खन्दै
डोजरले सोरेर गयो
नरबहादुर–
ढुङ्गा खोपेर बेलेस्टिनको ढिँडो भर्दा–भर्दै
कम्मरमा बाँधेको डोरी छिनेर
भिरबाट हुत्तियो
शिवशङ्कर–
हिउँको थुप्रो सोर्दा–सोर्दै
लेक लागेर म¥यो
यसरी व्यक्ति र परिवार भन्दा आफ्नो देशलाई शिरोपर गरी देश निर्माणमा लागेका नेपाली भाषी भूटानीहरुलाई षड्यन्त्रका विभिन्न हत्कण्डा अपनाई निरङ्कुशतापूर्वक देश निकाला गरेको घटनाप्रति कवि ज्यादै भावुक, आक्रोशित औ दुखी भएको पाइन्छ । यो कथा कुनै फिक्सन नभएर कवि आफैले भोगेको यथार्थ घटना हो । यसर्थ, यो एउटा विस्थापित भुटानीहरूको जिउँदो काव्यिक इतिहास हो । तुर्सा त उपमान मात्र हो, उपमेय त कवि स्वयम् हुन् ।
कविलाई दुख छ, मनमा लागेको कुरा सोध्न नपाएकोमा । कविलाई औडाहा छ, भन्न मन लागेको कुरा भन्न नपाएकोमा । किन कि, भूटानमा त्यसताका निरङ्कुश राजतन्त्रात्मक व्यवस्था थियो । जनताको हक अधिकार शून्यको अवस्थामा थियो । प्रश्न गर्न पाइँदैन थियो । प्रश्न गर्नु देश विरुद्धको अपराध मानिन्थ्यो । सरकार सामु बोल्नेलाई देशद्रोही घोषित गरिन्थ्यो । यस्ता मानिसलाई बिना वारेन्ट पक्राउ गरी कडा भन्दा कडा सजाय दिइन्थ्यो । थुन्न, ज्यान मार्न, यातना दिन, बेइज्जती गर्न, बेपत्ता पार्न आम घटना भएको थियो । डिग्लामनाम्जा अर्थात् शासक खलकको सामाजिक आचारसंहिता पालनाको नाममा जनताले मुखमा ताल्चा मारेर बस्नु पर्थ्यो। राजतन्त्रको त्यस्तो ज्यादती कवि निम्न शब्दमा उजागर गर्छन्:
सोध्न पाइन्न
बोल्न पाइन्न
सोध्नु देश विरुदको अपराध हो
बोल्नु देशद्रोह हो
चुपचाप बस्नु
‘डिग्लामनाम्जा’
त्यसैले तुर्सा सधैँ
श्रद्धानत शिर झुकाएर
‘लासला’ को भाव मात्र प्रकट गर्छ
यसरी कविले ७ परिच्छेदको कवितामा विस्थापित नेपाली भाषी भूटानीको इमानदारिता, निस्वार्थ देश प्रेम तथा देश निर्माणप्रतिको निष्ठा र लगाव, उनीहरू विरुद्ध राज्यसत्ताले गरेको षड्यन्त्र, अन्याय, अत्याचार सरल भाषा शैली प्रयोग गरी कलात्मक ढङ्गमा प्रस्तुत गरेका छन् । कविता निक्कै प्रभावकारी भएको छ । भूटान राज्यको जन्म पूर्व पृथ्वीको सृष्टिसँगै तुर्सा नदीको सृष्टि भएको हुनसक्ने अनुमानको आधारमा भूटान राज्यको न्वारन देख्ने तुर्साले त्यहाँ को−कसले के के गरे, कसले अन्याय गरे, कसले झूट बोले, को कति पानीमा छ, सोध्ने हो भने सबै भन्न सक्छ भन्ने मान्यताको आधारमा इतिहास, प्रकृति, विम्ब, प्रतीकको प्रयोग गरी सुन्दर तथा सफल कविता गरेका छन् । यसलाई शिवलाल दाहालको एउटा सफल कविता मान्न सकिन्छ ।
भाषा शैली: प्रस्तुत “तुर्सा” कविता गद्य भाषामा लेखिएको कविता हो । यसमा कुरा नघुमाई कन पाठकले सहजै बुझ्ने गरी विस्थापित नेपाली भाषी भूटानीको कथा-व्यथा प्रस्तुत गरिएको छ । सरल भाषा शैली, प्रकृति तथा सुन्दर विम्ब र प्रतीकको प्रयोग भएको छ । यो कविता तृतीय पुरुषको कथन ढाँचा वा बाह्य दृष्टि बिन्दुमा संरचित रहेको छ । थोरैमा धेरै अभिव्यक्ति गर्ने शब्द शिल्पको जादु यस कवितामा प्रयोग गरिएको छ ।
निष्कर्ष: यस कवितामा कविले तुर्सा नदीलाई फड्के साक्षी राखेर विश्व समुदाय समक्ष भूटानी राज्यसत्ताको पोल खोल्न खोजेका छन् । जसरी राज्यसत्ताले निर्दोष, निमुखा, जनता विरुद्ध षड्यन्त्र गर्यो, जो चोर उसैको ठुलो स्वर गरी देशभक्त जनतालाई राज्यद्रोहको आक्षेप लगायो र अन्ततः देश निर्माणमा समर्पित देशभक्तहरूलाई, विशेषतः नेपाली भाषी भूटानी जनतालाई, देशबाट निकाला गर्यो, यदि तुर्सालाई सोध्ने हो भने यो सबै दूधको दूध पानीको पानी हुनेछ भन्ने आशय प्रकट गरेका छन् ।
कवितामा पीडा छ, शालीन भाषामा हुङ्कार छ, जन्मभूमिबाट बेदखल हुनुपर्दाको नमिठो दुखाई छ । भूटानी राज्यसत्ताले घोर अमानवीय काम गरेको विरुद्ध तुर्सा नदीलाई मानवीकरण गरी साक्षी राखेर निरङ्कुश व्यवस्थाको पर्दाफास गर्न खोजिएको छ । यस अतिरिक्त यसमा कवि शिवलाल दाहालभित्र रहेको स्वाभिमानी नागरिक भएर आफ्नै देशमा केही गर्न पाए हुने थियो भन्ने आस्थाको अभिव्यक्ति प्रकट भएको छ ।