त्यो बाटो – एक स्मृति यात्रा!

सुशील रेग्मी
ओहायो, अमेरिका

म हुर्किएको त्यो शिविरको परिवेश
कस्तो भयो होला?
पहिला जस्तो थियो, त्यस्तै पक्कै छैन होला
होस् पनि त कसरी
एउटा देशको एक पाटो पुरै
खेदिए पछि बनेको सातवटा
टुक्राहरूको बसाइबाट
असी प्रतिशतले त्यो शिविर छोडेर
खोई कता हो कता सात समुद्र वारि आएका छौँ।

मेरो घरको ठ्याक्कै अगाडिको ठुलो बाटो
जहाँ मेरो पूरा बचपन अनि किशोर अवस्थालाई
घुँडा टेकाउन सफल भएको थियो,
बिहानको ब्रस गर्दाको समय होस् या सुत्नु अघि सु
गर्न त्यही बाटोले साथ दिने गर्थ्यो
त्यही बाटोमा झत्ताको गोल खेल्दा लडेर पिल्सिएको
मेरो हातको दाग अझै गएको छैन
मर्किएको खुट्टाको बुढी औँला अहिले पनि बल्झिरहन्छ
त्यही बाटोको कुनातिर दोस्ती गरियो, दुश्मनी गरियो,
लडाइँ गरियो, लडाइँ मिलाइयो
दिल जोडियो, दिल तोडियो,
प्रेम गर्न सिकियो, सिकाइयो
अरु के के गरियो के के।

झण्डै बिर्सिएको,
बाटो हिँड्ने मुइयाहरूलाई जिस्क्याउने अखडा नै थियो
सबै भन्दा मज्जाले जिब्रो मेरै पड्कन्थ्यो
गाली कति खाइयो खाइयो अन्जान
सुन्दरीहरूबाट
जिस्क्याउँदा मस्किदिए भने
आफू सफल भएको अनुभूति हुन्थ्यो।
परीक्षा सकेर कुन प्रश्नको उत्तर के पनि त

त्यही बसेर मिलाउने गर्थ्यौं
हामी एकै ब्याजवालाहरू
वरिपरि झण्डै २५ जना थियौं
पुरा प्रतिस्पर्धाको माहोल थियो
कसले राम्रो गर्ने भनेर,
रातभरि पढ्ने साथीहरू बाजी मारी हाल्थे।

आज राति सपनामा म त्यही थिएँ,
फुटेको बोतलको टुक्राले खुट्टा काटेर
झत्तोले रगत रोक्ने प्रयास गर्दै थिएँ
रोकिएको थिएन, बिउँझी हालेछु।
हामीले पान, गुट्खा खाएर थुकेपछि भुइँमा बनेको
रातो दागले अझै त्यो बाटो रंगी रहेको होला
मिठाईका खोलहरू, हराएका सिक्का
अनि मार्बल शायद पुरिए होलान्
अनि बयर र लप्सीका दानाहरू पनि
मल भए होलान अब त
मलाई त्यो बाटोको ढुंगाहरूले अझै खोज्दै होला
प्रत्येक ढुंगाहरूको प्रयोग
शायद मैले मात्र गरेको थिएँ होला,
आफ्नै साथीहरू हिर्काउन।
म अलि छुच्चै थिएँ बचपनमा
अझै पनि छु अलि अलि त,
तर पाकी सकियो अब त व्यस्तताको अगेनोमा।

प्रायः प्रत्येक दिन त्यो बाटोले एउटा न एउटा
लास डोर्‍याएर घाटसम्म लाने गर्थ्यो
मेरो हजुरआमालाई पनि त्यही बाटोले पुर्‍याएको हो
घाटसम्म, अरु कयौं आफन्तहरूलाई पनि
त्यो बाटोमा राति आउने डरलाग्दा आवाजहरू अझै
यो कानमा गुञ्जिरहन्छन्, शायद चराचुरुङ्गीको हुन पर्छ
तर भन्नेले जंगली, पिशाच, भूत भनिदिएका थिए
राति झुक्किएर बिउँझिए,
दिनभरि कामले थाकेर
मस्त निद्रामा भएका बालाई बोलाउने म
लात्ती खान योग्य रहेछु,
अहिले आफू बुबा भएसी थाहा पाए।

त्यही बाटो छेउमा सँगै उभिएको PES स्कूल
आहा यादहरू कति छन् कति
ठुला विद्यार्थीले खाएर
बाबा खैनीको सकिएको खोल
भित्रबाट खैनी भेला पारेर चाखेको
दिन कति छादियो छादियो,
झ्याप्पा खेल्दा class का बेन्च बिगार्दा
गार्डहरूले दिएको सजाय, लाज लाग्दो छ
यहाँ भन्न मिल्दैन, साथीहरूलाई याद होला अझै
पछि त्यही स्कूलमा शिक्षक भएर
जाँदा त्यही विषयमा हाँसीमजाक गर्दाको
समय साँच्चै अद्भुत थियो गार्डहरूसँग!

आगोले नडढाएको भए शायद
अहिले सम्म प्रतीक्षारत खडा रहन्थ्यो होला।
मलाई एक पल्ट घुम्न जानु छ वापस
तिनै पुराना यादहरू ताजा गर्न,
एक पल्ट फेरि मुस्कुराउन
एक पल्ट फेरि बालापन अनि
बैँस जिउन,
तिनै पुराना साथीहरूको एक हुल लिएर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *