आँखा

निबन्धकार

शिवलाल दाहाल,
विर्तामोड, नेपाल

आँखा !
आँखाको कुरा गर्दा तपाईँलाई रिस उठ्ला तर आँखा नर्फकाउनुहोस् । म यहाँ तपार्इँका आँखाको दोष खोट्याउन आएको होइन । म त मेरै आँखाको बारेमा कुरा गर्छु र यदाकदा तपाईँका आँखाका बारेमा पनि कुरा गर्ने छु । म जस्तो देख्छु उस्तै भन्छु । सत्य कुरालाई छल्नु महापाप हो ; यस्तो महापापको भागिदार म बन्न सक्तिनँ। आँखा आकर्षणका केन्द्र हुन् ; मानिसलाई सौन्दर्य र रुप दिने निसन्देह आँखा नै हुन् । साँच्चै नै आँखामा चमक छ, अनि छ दिव्यताको मोहनी । संसारका हरेक सुन्दर असन्दर चीजको पहिचान गर्ने आँखा नै हुन् ।

आँखाको महत्व सर्वोपरि छ । आँखा बिनाको संसार अँध्यारो छ, निराकार छ । सबैलाई ईश्वरले आँखा प्रदान गरेका छन् । अपवादमा कोही होलान् आखाँको ज्योति गुमेका वा जन्मजात आँखाको ढकनी नै नखुलेका । त्यसो त पशु–पंक्षी, किटपत्याङ्गका पनि आँखा छन् । मान्छे र पशुपंक्षीका आँखाको आकारमा भिन्नता होला, निर्णयात्मक शक्तिमा फरक होला, दृश्यात्मक शक्तिमा पनि एक रुपता नहोला । यस बारेमा म केही भन्न शक्तिनँ । यसको छिनोफानो गर्ने काम त वैज्ञानिकहरुको हो । जे होस् ईश्वरले आँखा दिएर संसार हेर्ने माध्य बनाई दिएकामा म गर्व गर्छु । म आँखालाई दिव्य वरदान मान्छु र म बढो प्रेम गर्छु ।

हाम्रो समाजमा एउटा प्रचलित उखान छ ‘आँखा लोभी मन पापी’ । साँच्चै नै आँखा लोभी नै हुन्छन् त ? वास्तवमा आँखाले नदेखेसम्म मनमा लोभ, लालच र इष्र्या जाग्दैन । देखेपछि मानिसमा लोभको भावना जागृत हुन्छ । तर आँखाको दोष छ भन्दैमा आँखाको रिस गर्नु पनि त भएन । आँखा नभएको भए के हुन्थ्यो ? कसैसित बोल्दा बात मार्दा उसको अनुहार देख्न पाइएन भने कति बेमज्जा हुन्छ– त्यो सबैले अनुभाव गरेकै कुरा हो । नदेखेको कुरा सधैँ अष्पस्ट र अग्राय हुन्छ । एक छिन् पनि आँखा चिम्लिएर बस्न सकिन्न के–के न भएको जस्तो लाग्छ , छट्पट्टि हुन्छ । एक दिन मैले अस्पतालमा एउटी अद्वैंशे आइमाइका आँखा पुरै टालिएका देखेँ । के भएछ भनेर म छक्क परेँ । के भएर यस्तो भयो भन्ने कुराले मनमा कुत्कुती लाग्यो । कुरा बुझ्दा त मेहन्दी लगाउँदा एलर्जी भएर आँखा सुनिएर पुरिएका रहेछन् । आँखा नदेख्ताको अनुभूति कस्तो हुँदोरहेछ ! उ भन्दै थिई मलाई आज जस्तो छट्पटी जीवनमा कहिल्यै भएको थिएन । हेर्नुहोस् त आँखाले नै मेहन्दीको सौन्दर्य देख्यो ; मनमा त्यसप्रतिको मोह जाग्यो र उसलाई दुःख दियो । केही समय आँखा देख्न नपाउँदा पनि यति समस्या भएको अनुभूति हुन्छ भने जीवनभर आँखाको ज्योति गुमाएर बाँच्नुको पीडा कति हुँदो हो !

आँखा दोषी छन् भनेर त माथि नै भनियो । आँखाकै कारणले कहिले कहीँ हाम्रो समाजमा लोग्ने–स्वास्नीको बीचमा झगडा हुन्छ । यस्ता झगडाहरु मैले आफ्नै आँखाले देखेको छु । लोग्नेले स्वास्नीलाई कुनै परपुरुष वा व्यक्तिसंग संगै हिँडेको वा वातचित गरेको देख्यो भने उ भित्र–भित्रै स्वास्नीसंग रिसले मुर्मिूरिन्छ, इष्र्याले भुट्भिुटिन्छ । अर्को शव्दमा भन्नु हो भने स्वास्नीलाई आँखा लगाउँछ । भरे घरमा फर्किए पछि स्वास्नीसंग दंगाफसाद हुन्छ, कति दिनको भात माया मार्छ । त्यस्तै स्वास्नीले आफ्नो लोग्ने कुनै पर–स्त्रीसंग संगै हिँडेको, बोलेको भेटाइ भने आँखा लगाइ हाल्छे । अनि भरेदेखि बिहान– बेलुकै लोग्ने–स्वास्नीको झगडा । यसरी लोग्नले स्वास्नीलाई र स्वास्नीले लोग्नेलाई आँखा लगाउने प्रवृति अझैँ पनि हाम्रो समाजमा विद्यमान छँदैछ । तीन चार जना छोरा–छोरी भएका लोग्ने स्वास्नीलाई पनि आँखाले यसरी ठगेको देख्ता म छक्क पर्छु । कस्तो अचम्म लोग्ने–स्वास्नीको जस्तो सुमधुर सम्बन्धलाई पनि दाग लगाउने– आँखा !

आँखा दोषी मात्री छैनन्, गुणी पनि छन् । सौन्दर्य पारख आँखाको एउटा ठूलो गुण हो । सुन्दर चीज देख्ने वित्तिकै हाम्रा आँखा त्यतैतिर टाँसिन्छन् । आँखाकै माध्यमबाट विचित्र सौन्दर्य पान गर्न पाइन्छ । आँखाले जति आनन्द दिन्छ विरलै अरु चिजले देला । देखेको कुरा सधैँ स्मृतिकोशमा धनीभूत भएर रहिरहन्छ । त्यसै भएर होला वर्षौ अघि देखेका सुन्दर फूलका गुच्छा आज पनि त्यतिकै ताजा, मनमोहक र प्रिय भएर आँखामा आइदिन्छन् । वीस वर्ष भयो घर–गाउँ छोडेर हिँडेको तर अझै पनि मेरा नजरमा त्यहाँका लालुपाते, सयपत्री, चिचुचाँगे, सनाखरी जस्ताको त्यस्तै फुलिरेका छन् । जब म एकान्त पीडामय मूछर्नामा डुबिरहेको हुन्छ त्यसबाट उन्मुक्तिका लागि तिनै दृश्यहरु आँखाको पर्दामा ल्याउने गर्छु । त्यहाँका हिमाल, वन –पाखा, खोला–नाला र ढुङ्गा–माटो सधैँ म देखिरहेको हुन्छ । नजरबाट हरेक सुन्दर दृश्यहरु हृदयमा पुग्दोरहेछ र मनमा आनन्द, स्फुर्ति छाउँदोरहेछ ।

आँखाको जतिसुकै उपयोगिता भए पनि आँखालाई लाञ्छना लाउने काम हामीबाटै भइरहेको हुन्छ । ठूला आँखा हुनेहरुलाई गोरुआँखे रे, सानालाई चिम्से । मेरा चाहिँ मझौला भएकाले यस्ता आँखालाई के संज्ञा दिने हुन्, म जान्दिनँ । तिनै आँखाको न्वारान गर्ने महापण्डितहरु जानुन् । फेरि अर्का थरि आँखालाई मृगनयन रे, यो कुनै प्रेमीले प्रमिकाको गुण वखानेको न होला । या आँखाकै विशेष गुण गाएको हो, म अनविज्ञ छु ।

कसै कसैको चश्मा लगाउने बानी पनि हुन्छ । कतिले आँखाको शक्तिमा ह्रास भएर चश्मा लगाउँछन् त कतिले रहरले लगाउँछन् । दृष्टिमा समस्या आए पछि म भने करले चश्मा लगाउने गर्छु । चश्मा लगाउने कारण धेरै छन् । कोही कोही भने चश्मा व्यक्तित्व बढाउनका लागि लगाउँछन् । मलाई त चश्मा लगाउनु भनेको आँखालाई कारागरमा थुन्नु जस्तै लाग्छ । आँखी माथिको भारी हो चश्मा । तपाई पनि चश्मा लगाउनु हुन्छ होला आँखा नफर्काउनु होस् । वास्तविक आँखा सत्य हुन् –चश्मा कृतिम । जब वास्तविक आँखाको दृष्टि शक्ति गुम्न पुग्छ –पूर्णरुपमा, चश्माका बाबुको पनि हबिगत चल्दैन तब चश्मा फुटेको हाडी भन्दा के फरक हुन्छ र ? जे होस् आँखाले नै चश्माको आविश्कार ग-यो र तपाईँलाई व्यक्तित्व सम्मपन्न बनायो । आँखाको अस्तित्व बिना चश्माको अस्तित्व रहन्न । तपाई नरिसाउनु होस् मैले तपाईको चश्माको इर्ष्या गरेको होइन । दुनियाँमा चश्मा लगाएर नचाहिँदो व्यक्तित्व झल्काउनेहरुले जति धोका अरु कसैले दिया छैनन् । घुम्ने मेचमा बटुके चश्मा लगाएर तपाईं पनि घुम्नु हुन्छ होला दुनियाँ ठग्दै । माफ गर्नुहोस् है !
आँखाको माध्यमबाट मनको भाव व्यक्त हुन्छ । आँखा अभिवव्यक्तिको माध्यम हुन् । कति कुरा नबोली कनै कहाँको इसाराले बुझिन्छ ।
आँखालाई छेकाबार छैन । एउटा सिङ्गो आकाश र बडेमानका पर्वत श्रृखलाहरु आँखा भित्र सजिलै अँटाउन सक्छन् । सानो भएर पनि सिङ्गो आकाश–धर्ती अँटाउने वास्तवमा आँखाको रुप कति विराट ! त्यसमा पनि आँखा हाम्रा सुख–दुःखका सहयात्री हुन् । दुःखमा पनि हाम्रा आँखा रसाइदिन्छन् अनि धरै सुखको अनुभूति भए पनि रसाइदिन्छन् । आँखा तपाईँसंग पनि छन् मसंग पनि छन् । ईश्वर पनि हाम्रा आँखाका माध्यमद्वारा संसार हेर्दा हुन् । हाम्रा आँखाले सत्यं, शिवं र सुन्दरम् देख्न सकुन् । अस्तु ।

( यो निबन्ध सन् २००२ तिर लेखिएको हो, केही सामान्य परिमार्जन गरेर अहिले यहाँ प्रस्तुत गरिएको छ ।- ले.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *