ओथारो बसेको शब्द
तिलारूपा आचार्य (अधिकारी)
ओहायो, अमेरिका
एक बथान अक्षरहरू
भावको खोजीमा पलायन भएका
फर्केर अझै आएका छैनन्
ओथारो बसेको मेरो शब्द
भावको पर्खाइमा छ
ता कि काव्यात्मक गुण
जन्माउने आशमा ।
त्यसै होला अचेल,
झर्को मान्छ कविता मसँग
नाक खुम्च्याए झैँ गर्छ
गजल मसँग
बाटो काटी हिँड्न पाए हुन्थ्यो
भन्छ हाइकु पनि
मुक्तक, रुवाई, तांका आदि
भेटघाट नभाको पनि
लामो समय पो भएछ
कोसौँ टाढा
एकनास चियाएर बसेको छ
मेरो आख्यान
ताते गर्न सकेको छैन
सकेसम्म उड्नका लागी
अझै पखेटा पलाएकै छैन।
अचानक,
तिमी आग्रह गर्छौ
केही रचना सुनाउ भनेर
खोइ के सुनाउ….
अनसन बसेको छ
मेरो काव्य यात्रा
मूल आशय नै नभएको
कविता के सुनाउ?
कविताको कवि नै
बेपत्ता भए पछि
मेरा सृजनाहरू
अलमलिएका छन् आजभोलि ।
विरक्त लाग्छ,
ओथारो बसेको मेरो शब्द
अक्षरहरूमा छरपस्ट
फुटी रहँदा
भाव हुन्छ शून्य….शून्य
भन त तिमी आफै,
यो साहित्याकाशमा
मेरो काव्य यात्राले
उडान भर्ला त …..?