जुनकिरीसँग एकरात

गणपति  दाहाल
युटिका न्यूँयोर्क अमेरिका

एक निस्पट्ट रात
अँध्यारोको फैलावटभित्र
उभिएको सडकमाथि
मेरा पाइला लम्किन्छन्
लमतन्न लडेको सडकमाथि
आँखा ओछ्याउँदै पाइला बड्छन्
अचानक मेरो बाटामा
एक गोलो जूनकिरी
धितधिप बत्ती बाल्दै रोकिन्छ
हातले पन्छाउँदै म अघि बड्छु
तर जूनकिरीको गोलो मेरा बाटामा झुत्तिन्छ
म बोल्दै जान्छु
मेरा लागि मेरो हिमालको चाँदनीलहर–उज्यालो
पर्याप्त छ
हिमाच्छादित पहाडी चुच्चुराको उज्यालो
आनन्दायी र घनीभूत छ
तर
जूनकिरीले प्रतिप्रश्न गर्छन्
खोइ हिमाल
खोइ चाँदनीयुक्त चुच्चुरा
खोइ पहाड
म अकमक हुन्छु
आँखामा अटाउने सम्मको दृश्य
वरिपरि हेर्छु
न हिमाल, न हिउँ
न चुच्चुरा, न हिमनदी
पुनः द्रुत गतिमा अघि बढेका पाइला
अड्कन पुग्छन्
उही जूनकिरीको धिपधिप
क्रोधित मेरा हात लखेट्तै जान्छु
म बोल्छु
मेरालागि चन्द्रमा प्यारो छ
तारागण प्रिय छन्
त्यो उज्यालो भित्र कोमलता छ
त्यो उज्यालो भित्र सुन्दरता छ
तब जूनकिरी प्रश्न गर्छन्
खोइ जून
खोइ उज्यालो
खोइ कोमलता
खोइ शीतलता आदि आदि
आँखा आकाशतिर उठाउँछु
केवल कालो बादल
न जून ……न तारा….. न उज्यालो
फेरि जूनकिरीको गोलो पन्छाउँदै
पाइला अघि सार्छु
उही धिपधिप
पुनः प्रश्न प्रतियोगिता
मेरा लागि सडक बत्तीको उज्यालो काफी
सडक किनार घरका टुकीको उज्यालो पर्याप्त
तर जूनकिरी प्रश्न गर्छन्
खोइ गाउँ
खोइ बस्ती, खोइ सडक बत्ती
वरिपरि नियाल्दछु
सुनसान छन् सडकहरु
सुनसान छन् बस्तीहरु
रित्ता छन् घरहरू
अधुरा छन् आँगनहरु
म अलमल्ल परेँ
धन्य ती जूनकिरीहरु
जसले मलाई बाटाभरि साथ दिए
जसले मलाई आँगनसम्म ल्याई दिए

वास्तवमा
जूनकिरीहरु
हिमालभन्दा चम्किला छन्
जूनभन्दा शीतल छन्
ताराभन्दा उज्याला छन्
सुनसान गाउँभन्दा प्रिय छन्
सुनसान सडकभन्दा प्रिय छन्
सुनसान आँगनभन्दा प्रिय छन्

Don't have a Facebook account? Please, use the form below with other options!