परिचित मान्छे !

एल वि रिग्खाम मंगर,
खुदुनावारी, झापा

साउन महिनाको झरीलाई
सोधे हुन्छ
नपत्याए
दिनको सूर्यलाई
सोधे हुन्छ
रातको चन्द्रमालाई
सोधे हुन्छ
ऋतुराज वसन्तलाई
सोधे हुन्छ
नभए
भञ्झयाङमा बिसाउने भरियालाई
सोधे हुन्छ
म त्यही धरातलको परिचित मान्छे !

छाती फोरेर निस्कने
तुर्सालाई सोधे हुन्छ
खहरे खोलाको पछि–पछि
चर्दै हिँड्ने कस्तरी,मृग र चौँरीहरुलाई
सोधेहुन्छ
ती सब मसित परिचत छन्
किन कि
म त्यही धरातलको भुक्तभोगी  मान्छे !

साँझ पर्न साथ झ्याउँकिरीहरु
मलाई भञ्झयाङदेखि ओह्रालो साथ लाग्थे
अनि कोइलीको सुमधुर भाकासंगै
अन्धकार रातमा
जुनकिरीहरु पनि पछि लागि
मलाई बाटो देखाउन हिँड्थे
किन कि
म त्यही धरातलको परिचित मान्छे !
त्यसैले प्रश्न छ तिमीलाई
म कसरी विदेशी मान्छे !

Leave a Reply

Your email address will not be published. Required fields are marked *