फिङ्गर क्रस

तिलारूपा आचार्य (अधिकारी)
ओहायो, अमेरिका

लाचार ऊ;
दोषको पहाड
पिठ्यूँमा बोकेर
घिस्रिरहेकी छे
घिस्रिरहेकी छे –
युगौँ युगसम्म !

उसको प्रत्येक घिस्र्याइमा
ऊ जस्तै
यावत अरू पनि भेट्छे
सोचमग्न उसको मनले सोच्छ
के नारीको परिभाषा….
चुपचाप चुपचाप मात्र हो ?

गह्रुङ्गो मन लिएर मध्यरातमा
जब बाल्कोनीमा निस्कन्छे
अनि आकाशतिर हेर्छे –
भाले मखुन्डो ओढेको आकाश
उसलाई नै हेरिरहेछ
सोच्छे …. शायद,
आकाशले पनि धर्तीलाई
स्त्रीलिङ्गी सोचेको हुनुपर्छ !

पटक्कै विश्वास लाग्दैन
फेरी आँखा मिचेर हेर्छे
आकाशभरि देखिएका
चम्किला ताराहरू माझ
धमिला, निस्तेज ताराहरू
बिलकुल ऊ जस्तै देख्छे !

प्रत्येक चोटि
जब तारा टुटेर झर्दै गरेको देख्छे
ऊ मन मनै इच्छा जाहेर गर्छे
आफ्ना दुवै हातमाथि उठाउँदै
फिङ्गर क्रस गर्दै भन्छे
आइ विस ……

के वर मागिस् भनेर उसलाई
कसैले सोध्दो हो त …..
ऊ चिच्याई चिच्याई भनिदिने छे
‘हे सृष्टिकर्ता …..
मेरो योनी फिर्ता लैजा ‘
ता कि म
बार बार रगताम्मे जाँघ लिएर
घर पुग्नु नपरोस्
अहँ: पुग्नु नपरोस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *