यो तेस्रो पुस्ता
बुद्धमणि ढकाल
अमेरिका
लेपन पोतेको अनुहार
आँखा सजाउने आइलाइनर
खिरिला तिखारिएका नङ्ग्रा
नङपालिसको बजार
सौन्दर्य अपरिभाषीत रह्यो
बिक्रीमा छ शरीर बोक्रा
अरूकै सिको गर्नु छ
आफ्नोपन मिल्काउनुछ
माया लाग्दैन रहेछ
आमाले दिएको फुली
लज्जा ढाक्ने गुन्यू चोली
बहिनीको नक्कले इच्छा
छोटो लाउने प्रतिस्पर्धा ।
फुत्किदिन्छन् उन्नत वक्ष्यस्थल
बहिनीका सजावटबाट
दाजु मुन्टो फ़र्काइदिन्छ
नदेख्ने बहाना गर्छ
भाइ चियाउन खोज्छ
लापरवाही देखेर ।
कन्जुस्याई गर्छे बुहारी
एक धर्को सिन्दूर पहिरिन
चुरा बज्दैनन् भाउजुका
नाङ्गो हात
मसान घाटबाट फ़र्केसरि ।
लज्जाको अनुभव हुँदैन
नाङ्गो नाचमा
सामेल छन् सिनेमाका परीसरि
घर आँगनमा
उही नग्न दृश्य ।
छोरा निहुरिदैनन
सत्कार गर्न बा-आमा
यो माटोको दोष
कम्मर मुनि झर्ने प्यान्ट
लामो जुल्फी
अटुट चुरोटे नशामा
ज्ञानको खोजी छैन यहाँ
तमाशा हेरे पुग्छ
ज्यामी मजदुर भए पुग्छ
लक्ष्य चुलिदैन यहाँ
संस्कार घोप्टिएको छ
निशानी मेटिएको छ
चिनारी बेचिदिए जस्तै ।