सपनाले तर्साएको मान्छे
कर्ण गुरुङ
नेब्रास्का, अमेरिका
प्रत्येक दिन सपना देख्छु
कहिल्यै जहाजमा चढेको
कहिले गाडीमा गुडेको त
कहिले रकेटमा उडेको
खैर ! त्यो सब त ठिक छ
सपनामा कहाँ कहाँ पुग्छु
कहिले भिरबाट खस्दै त
कहिले साँढे गोरुले खेदाउँदै
बाटोमा सर्प र बाघको आक्रमण
भाग्दा-भाग्दा हैरान हुन्छु
मुटु ढुकढुक भएर डराउँछु
बिउँझँदा निन्द्रै पुग्दैन
सपनाको अर्थ खोज्दै
बाँकी दिन बिताउँछु
अन्धविश्वासको ज्योतिषीलाई सोध्छु
ठेली खोल्दै अर्थ्याउँछ
यो मन डराउँछ
आँट साहस हराउँछ
त्यस्तो सपना नदेख्न
ऊ फेरि पाठ पूजा लगाउँछ
मेरो भावनासँग खेलेर
ऊ ममाथि राज गर्छ
सपना न हो फेरि आइहाल्छ
जन्तर बुटी के-के बँधाउँछ
प्रत्येक दिन सपना देख्छु
एउटा सपनाको सिकार नहुँदै
अर्को सपनाले सताउँछ
यो मनलाई मारिदिन्छ
तर्साएर अनिदो बनाउँछ
तर यो कुरा बुझ्दिन
र त म हरेक दिन हार्छु
बेस्मारी डराउँछु।
“सपना सपना नै हो
त्यो सत्य हुनु थियो भने
त्यसलाई सपना भनिने थिएन
कि बिपना
कि अरू केही भनिन्थ्यो”
त्यसैले म
सपनाले तर्साएको मान्छे।
प्रत्येक दिन डराएको मान्छे।
बिपनामा जिउन बिर्सिएको मान्छे।
आफ्नो सत्यलाई नबुझी
ज्योतिषीलाई जोत्न दिने मान्छे
म सपनाले तर्साएको मान्छे।