सम्झनामा झुपडी

हरि उप्रेती
ओहायो अमेरिका

 

प्रभात सँगै
म उठ्दा
मुस्कुराउँदै मलाई हेरि रहने
त्यो मेरो झुपडी
आज पनि
पानी छ छल्किए झैँ
सम्झनामा
लाग्छ आज पनि मलाई
हर सन्ध्यामा
सदा जस्तै आउने अभिलाषा बोकेर
मुस्कुराउँदै बाटो हेरी रहेको होला
बर्सातको सारथि त्यो छानो
अनि हुरी बतासको सखी
ती भित्ताहरूले
मलाई सोधिरहेको हुनुपर्छ
मेरो झुपडीको मूल खाँबोले
हर बिहानी बोलाइरहे जस्तो लाग्छ
म अनि मेरा सुन्दर फूलहरू
खेल्ने त्यो आँगन
आज एक्लो भएको छ
मेरी अर्धाङ्गिनीले
पिठ्युँमा बोक्ने गाग्रीले
पलपल सहारा खोजी रहेछन्
हर दिन मुस्कुराउँदै

 

अत्तर छर्ने गुलाब अनि मखमली
आज मालीविहीन भएका छन्
बिस्तराले सायद
हर रात सपनीमा
मलाई खोजी रहेको होला
तर अपसोच…..
न त म त्यो आँगन टेक्न सक्छु
आखिर त्यो आकाश
उकाली ओराली गर्ने
कयौँ गोरेटाहरू
मगमगाउदै अत्तर छर्ने
ती सुन्दर बगैँचाका
रङ्गिन फूलहरू
आज बिराना भइसकेका छन्
थाहा छैन खै
त्यो झुपडीको छानो
अझै उस्तै छ कि पुरानो भई सक्यो
सायद पानी पँधेरोले पनि
मेरा गाग्रीहरू पर्खी रहेको होला
मेरा सखीहरूले मलाई खोजी रहेका होलान्
अब त चाहेर पनि
त्यो झुपडी
कहाँ भेट्न सक्छु र
सक्छु त केवल

तिम्रो आवरणलाई सम्झन मात्र…

One Reply to “सम्झनामा झुपडी”

Don't have a Facebook account? Please, use the form below with other options!