सौरेनी

खुदुनाबरी, झापा

सौरेनी–
एउटा अग्लो डाँडो, पहाडको थुम्की
कुनै समय एक युगको शिखर थियो
कुनै समय एक सभ्यताको उचाइ थियो,

त्यसबखत सौरेनी
अँध्यारोमा घाम भएर उदाइदिएको थियो
त्यसबखत सौरेनी !

सीमानामा पहरेदार भएर उभिदिएको थियो
त्यसबखत सौरेनी,
जंगलमा धान,मकै, गहूँ र ऊखू भएर फुलिदिएको थियो
त्यसबखत सौरेनी
पाखा-पखेरामा हिरा भएर चम्किदिएको थियो ।

कसैलाई लेखा-जोखा छैन
कालान्तरमा त्यही सौरेनीले
कतिचोटि
धुपी र सल्लाको बोटमा आत्मदाह गरिसक्यो
कतिचोटि,
धामधुमको बगरमा गोली थापिसक्यो,
कतिचोटि
सुन्कोस र मानसमा बगिसक्यो,
कतिचोटि
पोक्ची र कान्छी भएर बलाकृत भइसक्यो,

कसैलाई लेखा-जोखा छैन
सौरनीको बिगतको कथा
मात्र बाँचिदिएको छ ऊ
खण्डहर इतिहासको गर्भमा
चिरहरण गर्न खोजिएकी द्रौपदी जस्तो !

भदौ १६,२०६८ (ऋषि पञ्चमी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *